झापा, २८ पुष २०७७ । देशभर आज थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ७७ महिला र २ सय ५३ पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ सय ९० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८ सय ५५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ सय ३७ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा ताप्लेजुङ, रुकुम पश्चिम, मुगु र बाजुरा गरि ४ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४ हजार ४ सय ८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार १ सय २८ जना र संस्थागत आइसोलेसनमा २ हजार २ सय ८० जना रहेका छन् ।
हालसम्म १ सय ५७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Comments