Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठ्माडौं, २३ पुष २०७७ । झण्डै ५ हजार सहकारी संस्था गायब भएको एउटा सरकारी प्रतिवेदनले देखाएको छ । सहकारी विभागले प्रकाशन गरेको प्रतिवेदन अनुसार देशभर अहिले २९ हजार ८ सय ८६ वटा सहकारी संस्था छन् । केही समय अघिसम्म सहकारी विभागले नै देशभर सहकारीको संख्या ३४ हजार ८ सय ३७ रहेको बताउँदै आएको थियो ।

पछिल्लो प्रतिवेदन अनुसार ४ हजार ९ सय ५१ सहकारी संस्था गायब देखिन्छ । सहकारी विभागका रजिष्ट्रार डा। टोकराज पाण्डेले केही सहकारी निस्क्रिय र केही मर्जरमा गएकाले सहकारीको संख्या घटेको बताए । यद्यपि, विभागका अर्का एक अधिकारीका अनुसार यस अघि गरिएको तथ्यांक संकलनमा नै त्रुटि भएकाले बढी संख्या देखाएको बताउँछन् ।

पछिल्लो तथ्यांक अनुसार मुलुक भर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थामध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ छन । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो ।

सहकारीहरुले बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ गरेका छन् ।

चार वटा स्थानीय तह सहकारी बिहिन

सहकारी संस्थाको संख्या २९ हजार भन्दा बढी भएपनि अझै चारवटा स्थानीय तहमा सहकारी संस्था छैनन । डोल्पाको डोल्पो बुद्ध गाउपालिका, शेफोक्सुण्डो गाउँपालिका, थार्कापाङसोङ गाउँपालिकामा एउटा पनि सहकारी संस्था छैनन । यस्तै मनाङको नार्पाभुमि गाउँपालिकामा पनि सहकारी संस्था छैन ।

यता बागमती प्रदेशमा भने सबैभन्दा बढी सहकारी संस्था देखिएका छन् । यस प्रदेशमा मात्र १० हजार ४ सय १८ सहकारी संस्था रहेका छन् । बागमती प्रदेशका सहकारीले १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार ४ सय ३४ रुपैयाँ ऋण लगानी गरेका छन् । यहाँका सहकारीले २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८ सय ६० रुपैयाँ बचत संकलन गरेका छन् ।

यस्तै प्रदेश १ मा ४ हजार ७ सय ३७ सहकारी संस्था रहेका छन् । ती सहकारीहरुले कुल बचत सकलन ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपैयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपैयाँ गरेका छन् ।

यता प्रदेश २ मा कुल सहकरी सङ्ख्या ४ हजार १ सय ५३ रहेका छन । ती सहकारीले २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपैयाँ बचत सङ्कलन र १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपैयाँ कुल ऋण लगानी गरेका छन् ।

लुम्बिनी प्रदेशमा कुल सहकरी सङ्ख्या ३ हजार ७ सय ५५ रहेको छ । ती सहकारीले ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपैयाँ कुल बचत संकलन गरेका छन् भने ४० अर्ब ८० करोड ६८ लाख ४ हजार ३२ रुपैयाँ कुल ऋण लगानी गरेका छन् ।

गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारी संस्था छन् । यीनीहरुले ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपैँया बचत सङ्कलन र ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४ सय ३३ रुपैँया ऋण लगानी गरेका छन् ।

यस्तै कर्णाली प्रदेशमा १ हजार ९ सय ६७ सहकारी रहेका छन् । यो सबैभन्दा कम सहकारी संघसंस्था भएको प्रदेश हो । यस प्रदेशमा कुल बचत सङ्कलन ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपैयाँ र कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४ सय ८५ रुपैयाँ रहेको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६० छन् । यी सहकारीले १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९ सय ४१ रुपैयाँ कुल बचत सङ्कलन गरेका छन् भने ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३ सय ३१ रुपैयाँ गरेका छन् ।

सहकारीले दिए ८८ हजार ३ सय ९ जनालाई रोजगारी

मुलुकभर ८८ हजार ३ सय ९ जनाले सहकारी संस्थामा रोजगार पाएका छन् । सहकारी संस्थाले सबै भन्दा बढी बागमती प्रदेशमा रोजगारी दिएको छ । यस प्रदेशमा सहकारी मार्फत ३३ हजार ८ सय ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यता प्रदेश एकमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यस्तै प्रदेश २ मा १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । लुम्बिनी प्रदेशमा सहकारी मार्फत ६ हजार ९ सय ८९ जनाले रोजगारी पाएका छन् ।

गण्डकी प्रदेशमा सहकारीले ७ हजार ६ सय ३८ जनालाई प्रत्यक्ष दिएको छ भने कर्णाली प्रदेशमा ४ हजार ५ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुदुरपश्चिम प्रदेशमा सहकारी मार्फत २ हजार ८ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मुलुकमा संघीयताको कार्यान्वयनसँगै तीन तहको सरकारहरु (संघ, प्रदेश र स्थानीय) बीच अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु पनि ३ तहकै सरकारमा विभाजन भएपश्चात सहकारीको एकीकृत विवरण पहिलो पटक विभागले सार्वजनिक गरेको हो ।रातोपाटीबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments