Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, १८ पुष २०७७ । औषधि व्यवसायीहरुको व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ । औषधी व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायीक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधी व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो ।

शनिबार भक्तपुरमा आयोजित नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधी व्यवसायीलाई दिइने व्यवसायीक प्रमाणपत्रको अवधि बढाउन सकिने बताएका हुन् । अहिले औषधी व्यवसायका लागि दिने व्यवसायिक प्रमाणपत्रको हरेक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । महानिर्देशक भट्टराईले भने तीन वर्ष देखि पाँच वर्ष भित्र कहिले नविकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताए ।

कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा विक्री वितरण आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधी व्यवसायीहरुलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुस्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया