काठमाडौँ, १३ पुष २०७७ । सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको उपचार हुनेछ ।

हाललाई सरकारी अस्पतालमै कोभिड बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूको मात्र उपचारबापतको रकम शोधभर्ना गर्ने जनाएको छ ।

५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोभिडको निःशुल्क उपचार र परीक्षण हुँदै आएको थियो । निजी स्वास्थ्य निकायमध्ये ८ वटा मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन । ‘अहिले सबैजसो अस्पतालहरूमा कोभिड बिरामीलाई बेड, आईसीयू र भेन्टिलेटर सेवा पाउन गाह्रो छैन,’ डा. अधिकारीले भने, ‘केस कम भएको र संक्रमितहरू घरमै बस्ने गरेकाले यस्तो भएको हुन सक्छ ।’ कोभिडको जटिलताले गर्दा आइतबार देशभर २ सय ३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा गरी कुल २ सय ८८ जना सघन उपचारमा छन् । वाग्मती प्रदेशमा ८२ जना आईसीयू र २७ जना भेन्टिलेटरमा छन् ।

 

तपाईको प्रतिक्रिया

Comments