Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

मंसिर २३, २०७७

लन्डन — बेलायतमा मंगलबारदेखि आममानिसमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट दिन सुरु गरिएको हो ।

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला फाइजरको कोरोना खोप लगाउने पहिलो व्यक्ति हुन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो । कीननले कोरोना खोप लिन पाउँदा आफू भाग्यमानी महसुस भएको उनले बताएकी छन्।

मंगलबार कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएकी कीननले दोस्रो डोज २१ दिनपछि लगाउनेछिन् ।

स्कटल्यान्ड र वेल्सले पनि मंगलबारदेखि खोप वितरण सुरु गरेका छन् । बेलायतमा पहिलो चरणमा आउँदो सातासम्म ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ । स्वास्थमन्त्री म्याट हेनककले ट्वीट गर्दै सबै क्षेत्रमा खोप पुगिसकेको जनाएका छन् ।

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् । राष्ट्रिय स्वास्थ्य सेवा, इंग्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोविसले यो बेलायतकै इतिहासमा जटिल र बृहत् खोप अभियान भएको बताएका छन् ।

एनएचएस इंग्ल्याण्डका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले खोप अभियान कोरोना भाइरसविरुद्धको लडाईंमा निर्णायक मोड भएको प्रतिक्रिया दिंदै आगामी वसन्त ऋतुसम्म खोप कार्यक्रम जारी रहने र यो बेला मानिसलाई धेरै होसियार रहन सुझाएका छन् ।

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

फाइजर र बायोएनटेकले विकास गरेको उक्त खोप बेल्जियमबाट बेलायतसम्म ढुवानीका लागि बेलायती सेनाको सहयोगसमेत लिने सरकारको योजना छ । विदेशमन्त्री जेम्स क्लेभर्लीले सो जानकारी दिएका हुन् ।

परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोप बेलायतले २ करोड मानिसलाई पुग्ने गरी ४ करोड डोज अर्डर गरेको छ । २१ दिनको अन्तरमा दुई डोज दिइनेछ ।

क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले आफ्नो अस्पतालमा बिहान ७ बजेदेखि खोप लगाउन सुरु भएको जानकारी दिए । फाइजर, बायोएनटेक खोप प्राप्त गर्ने उक्त अस्पताल विश्वकै पहिलो हो । ती खोपका कन्टेनर स्पेसल फ्रिजरमा राखिएको छ ।

‘सुरुमा हस्पिटलको बहिरंग विभागमा अपोइन्टमेन्ट भएका ८० वर्ष माथिका, हस्पिटलबाट डिस्चार्ज भएर केयर होममा जाने ८० वर्ष माथिका, फ्रन्टलाइन स्वास्थ्यकर्मी (बढी जोखिममा रहेका) र केयर होममा काम गर्नेलाई खोपको प्राथमिकता निर्धारण गरिएको छ ।

क्रोयडन नेपाली समाजका अध्यक्ष पौडेल आफ्ना करिब ७० प्रतिशत सदस्य फ्रन्टलाइन हेल्थ वर्कर भएकाले नेपाली समुदाय पनि यसबाट लाभान्वित हुने बताउँछन् ।

बेलायती महारानी एलिजावेथ द्वितीय समेत कोभिड खोप लिने तयारीमा रहेको बताइएको छ । ९४ वर्षीया महारानी र उनका ९९ वर्षीय पति प्रिन्स फिलिप पहिलो चरणमै खोप लिनेहरुको ‘वेइटिङ लिस्ट’ मा रहेको बेलायती मिडियाले जनाएका छन् ।

सरकारले पहिलो चरणमै खोप पाउनेको प्राथमिकतामा राखेको ८० वर्ष माथिको उमेर समूहअन्तर्गत उनीहरुलाई खोप दिइने भएको हो । तर, महारानीका लागि कुनै छुट्टै विशेष व्यवस्था नगरिने भएकाले उनले आफ्नो पालो पर्खिएरै खोप लिने बताइएको छ ।

बेलायतले विश्वमै पहिलोपटक उक्त खोपलाई अनुमति दिएको थियो जुन कोभिडबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । तर माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा यो अलिक चुनौतीपूर्ण रहेको स्वास्थविद्हरुको राय छ ।

बेलायतले फाइजर र बायोएनटेकको ४ करोड बाहेक अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड, नोभाभ्याक्सको ६ करोड, भल्नेभाको ६ करोड, जिएसके र सानोफी पाश्चरको ६ करोड, जानसेनको ३ करोड र मोडेर्नाको ७० लाख डोज अर्डर गरिसकेको छ ।

बेलायतको बर्मिङघम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा। विभु पौड्याल चीन र भारतमा उत्पादन भएका खोप नेपाल ल्याउन सहज हुने बताउँछन् । नेपालका लक्षित वर्गमा कोभिड भ्याक्सिन पुरयाउन अझै ७, ८ महिना लाग्न सक्ने डा। पौड्यालको अनुमान छ । खोप वितरणमा निजी क्षेत्रलाई समेत सहभागी गराउन सके सरकारलाई सहज हुने उनको सुझाव छ ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया