Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काँकडभिट्टा, १८ मंसिर २०७७ । झापामा तेजपत्ताबाट तेल उत्पादन सुरु गरिएको छ । काँकडभिट्टाको महेन्द्रद्वार सहकारी संस्थाले मेचीनगर–८ जोरसिमलनजिकै ८ बिघा जमिनमा तेजपात प्रशोधन केन्द्र बनाई तेल उत्पादन थालेको हो ।

प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७२ लाख रुपैयाँ आर्थिक सहयोगमा प्रशोधन केन्द्र बनाई तेल उत्पादन सुरु गरिएको सहकारीका अध्यक्ष राजु दाहालले जानकारी दिए । ‘बाँकी ५० लाख जति सहकारीबाट लगानी गरेर कारखाना निर्माण गरेका हौं,’ उनले भने, ‘तेल उत्पादन धमाधम भइरहेको छ ।’

दाहालका अनुसार तेजपत्ताको तेल उत्पादनका लागि भारतबाट मेसिन झिकाइएको छ । ‘भारतमा तेजपातबाट तेल उत्पादन गर्ने कारखानाहरू प्रभावकारी देखिए,’ उनले भने, ‘हामीले किन नगर्ने भनेर हात हाल्यौं ।’

नेपालको महाभारत पर्वतीय शृंखलामा समुद्री सतहबाट एक सय मिटरदेखि २ हजार ५ सय मिटर उचाइमा तेजपत्ताको उत्पादन अत्यधिक पाइन्छ । बाहुनडाँगीका किसान अर्जुन कार्कीका अनुसार पछिल्लो समय झापामा समेत तेजपत्ताको उत्पादन बढेको छ । उनका अनुसार हरियो तेजपत्ता प्रतिक्विन्टल १ हजार ५ सय र सुक्खा तेजपत्ता प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ । झापामा उत्पादित तेजपत्ता सस्तो मूल्यमा भारतीय व्यापारी समूहले किसानका बारीबाटै किनेर लैजाने गरेको छ ।

झापामै कारखाना खुलेकाले किसानका सबै उत्पादन खरिद गरी तेल उत्पादनमा प्रयोग गर्ने सहकारीको योजना छ । दाहालले तेजपत्ता खेती विस्तारका लागि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत ल्याउन लागिएको जनाए । ‘सोझै तेजपात भारत पठाउनेभन्दा पनि तेल पठाउँदा किसान र कारखाना दुवैलाई फाइदा हुने देखियो,’ उनले भने । दाहालका अनुसार सय किलो तेजपत्ताबाट बढीमा एक लिटर तेल उत्पादन हुन्छ । वाष्पीकरण प्रणालीअनुसार तेल निकालिन्छ ।

उत्पादित तेल भारत तथा तेस्रो देश निकासी गर्ने योजना सहकारीको छ । विश्व बजारमा तेजपत्ताबाट उत्पादित तेलको मूल्य प्रतिलिटर २५ देखि ३० डलर छ । भारतीय बजारमा भने प्रतिलिटर भारु ५ हजारसम्ममा बिक्री हुन्छ ।

भारत, चीनसँगै उत्तर अमेरिका, ल्याटिन अमेरिका, रसिया, पश्चिम युरोप, मध्यपूर्वी एसिया, अफ्रिका र जापानमा तेजपत्ताको तेलको माग अत्यधिक रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । वनस्पतिविद् कमल मादेनका अनुसार एन्टिसेप्टिक, एन्टिबायोटिक र दुखाइ कम गर्ने गुण भएको तेजपत्ताको तेल सौन्दर्य प्रसाधन निर्माणमा पनि प्रयोग गरिन्छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments