Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौँ, १६ मंसिर २०७७ । मुलुकभर करिब ५ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ चिकित्सकसहित १३ जनाको ज्यान गएको छ ।

एक पटक कोभिड–१९ पोजिटिभ भईवरी निको भएर काममा फर्केका स्वास्थ्यकर्मीहरूसमेत पुनः संक्रमण हुन सक्ने त्रासमा छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरिमा हालसम्म ४ हजार ९ सय ७५ स्वास्थ्यकर्मी कोभिडले संक्रमित भएका छन् । ६९ जिल्लाका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

सबैभन्दा बढी संक्रमण राजधानीका स्वास्थ्यकर्मीमा देखिएको छ । ‘कोभिडले संक्रमित स्वास्थ्यकर्मीमध्ये ४९.०२ प्रतिशत काठमाडौं उपत्यकाका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पेसागत कारणले सामान्य व्यक्तिभन्दा कोभिडको धेरै बढी जोखिममा स्वास्थ्यकर्मी छन् ।’ कुल संक्रमित स्वास्थ्यकर्मीमध्ये २० प्रतिशत चिकित्सक रहेको उनको आंकलन छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्मका संक्रमित स्वास्थ्यकर्मीमध्ये करिब ३ प्रतिशत उपचारका क्रममा छन्, अरू भने निको भइसकेका छन् ।

संक्रमितकै उपचारमा खटिने स्वास्थ्यकर्मीहरू बढी जोखिममा छन् । सामान्य व्यक्तिमा नभए पनि स्वास्थ्यकर्मीमा संक्रमण पुनः हुने जोखिम रहेको चिकित्सकहरूले बताएका छन् ।

कोभिड संक्रमितको बढी सम्पर्कमा आउने अग्रपंक्तिका स्वास्थ्यकर्मी बढी जोखिममा हुन्छन् । ‘चिकित्साकर्मी साथीहरू संक्रमण हुने र दोहोरिने जोखिममा रहेर काम गर्दैछन्,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले भने । लान्सेट मेडिकल जर्नलको वेबसाइटमा गत सेप्टेम्बरमा चिकित्साकर्मीमा दोस्रो पटक कोभिड संक्रमण भएको विषयमा गरिएको अनुसन्धानबारे उल्लेख छ । अनुसन्धानअनुसार कोभिड भाइरसको दोस्रो संक्रमण धेरै खतरनाक हुन सक्छ ।

तपाईको प्रतिक्रिया