Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, ९ मंसिर २०७७ । राष्ट्रव्यापि रुपमा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ ।

झापाको गौरादह नगरपालिका भित्रका ६ महिनादेखि ५ वर्ष सम्मका ५ हजार ५ सय ८५ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइन लागिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बिहिबार र शुक्रबार दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ए र जुकाको औषधी कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. १ मा ७ सय २५ जना, वार्ड नं. २ मा ३ सय १५, वार्ड नं. ३ मा ३ सय ९७, वार्ड नं. ४ मा ७ सय १८, वार्ड नं. ५ मा ७ सय ७०, वार्ड नं. ६ मा ७ सय ८६, वार्ड नं. ७ मा ६ सय ३९, वार्ड नं. ८ मा ५ सय ८८ र वार्ड नं. ९ मा ६ सय ४७ जना गरि ५ हजार ५ सय ८५ जना बालबालिकाहरु रहेको जनाइएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए खुवाइने छ भने, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताउनुभयो । भिटामिन ए र जुकाको औषधी निशुल्क खुवाइन लागिएको बताइएको छ ।

नगरपालिका भित्रका बालबालिकाहरुलाई ११ र १२ गते भिटामिन ए र जुकाको औषधी खुवाउनको लागि ५१ जना महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने जनाइएको छ ।

भिटामिन ए ले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउनुका साथै ३० प्रतिशत बालमृत्युदर कम गराउँछ । यसको सेवनले बालबालिकालाई कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन पनि भिटामिन ए को निकै ठूलो भूमिका हुन्छ । यस्तै, यसले दादुरा तथा झाडापखाला जस्ता रोगहरु लाग्नबाट बचाउने हुनाले ६ महिना पुरा भएको बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ ।

यस्तै, बालबालिकालाई खुवाइने जुकाको औषधीले भने, बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्ने काम गर्दछ । जुकाले बालबालिकाको पेटमा बसेर रगत चुस्ने हुँदा बालबालिकाको शरीरमा रगतको कमी हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइन लागेको हो ।

सबै वडाहरुमा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिएको हुँदा आफ्नो बालबालिकालाई नजिकैको महिला स्वास्थ्य सवयं सेविका सँग सम्पर्क गरि भिटामिन ए र जुकाको औषधी खुवाउनु हुन गौरादह नगर स्वास्थ्य शाखाले सुचना जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले नै भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा उनका अभिभावकलाई ज्वरो आएको वा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए क्याप्सुल नखुवाउन भनेको छ।

यदि अभिभावक र बालबालिकालाई ज्वरो आएको छ भने, ति अभिभावकका बालबालिकालाई अहिले औषधी नखुवाइने समेत जनाइएको छ । कोभिड-१९ को जोखिम बढ्ने हुँदा बालबालिका र उनका अभिभावकलाई ज्वरो निको भएपछि मात्र आ–आफ्नो स्वास्थ्य संस्थामा गएर औषधी खुवाउन हुन आग्रह समेत गरिएको छ ।

सरकारले हरेक वर्ष वैशाख र कार्तिकमा गरि दुई चरणमा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम चलाउँदै आएकोमा यस वर्ष कोभिड-१९ को जोखिमका कारण राष्ट्रव्यापि रुपमा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित भएको थियो ।

तपाईको प्रतिक्रिया