Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ६ मंसिर २०७७ । देशभर आज थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ६ सय ६१ महिला र १ हजार १३ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय २३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार १ सय ४४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै, देशभर सक्रिय संक्रमित भई २४ हजार ९ जना बिरामी उपचाररत रहेका छन् । सक्रिय संक्रमित मध्ये १७ हजार २ सय ६ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ८ सय ३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांक अनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ ।

यस्तै, हाल काठ्माडौं उपत्यका सहित झापा, मोरंग, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यस्तै, मनाङ र मुगु जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया