Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३ मंसीर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो।

नेकपाको आज बसेको सचिवालय बैठकले आउँदो मंसीर १३ गते सचिवालयको बैठक बस्ने निर्णय गरेको हो। त्यस्तै बैठकले यसअघि मंसीर १५ गतेका लागि बोलाएको पार्टी केन्द्रीय कमिटीको बैठक मंसीर २५ गते बोलाउने निर्णय गरेको छ।

बैठकले मंसीर १८ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार आउँदो मंसीर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो राजनीतिक प्रस्ताव पेश गर्नेछन्।

उक्त बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली दुवैका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचि तयार गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसअघिको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको भए पनि उक्त प्रस्तावमाथि कुनै औपचारिक निष्कर्ष निस्किसकेको छैन।

नेताहरुले दुवै अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि छलफल गरेपछि टुंगोमा पुग्ने बताएका छन्। बुधबार दिउँसो १ बजे बालुवाटारमा बसेको बैठकले राजनीतिक प्रस्तावमा सहमति नजुटेपछि बैठकको कार्यतालिकाबारे निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया