Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

सरकार भनेको जनताको हितमा राज्यका नियम कानुनहरु लागु गर्ने शासनको मुख्य अंग हो । लोकतन्त्रमा सरकारको नियन्त्रण जनताको हातमा हुनुपर्छ । सरकार जनताले अंकुश लाउन नसक्ने भयो भने स्वेच्छाचारी र निरंकुश हुन्छ । लोकतान्त्रिक शासन ब्यवस्था बलियो र जनमुखी बनाउन जनताले सरकारको लगाम आफ्नो हातमा लिनु पर्छ।

दलीय ब्यवस्थामा सरकारमा जनताको लगाम भन्नाले पार्टीले सरकारको नियन्त्रण गर्नु हो । नेपालमा पटक पटक दलहरुलाई बहुमत दिएर सरकार चलाउन जनताले अवसर दिएकाछन् । बिडम्बना ! सरकारमा पुगेपछि सरकारको नेतृत्व पार्टीको अथवा जनताको लगाम भन्दा बाहिर हुन्छ। सरकार स्वेच्छाचारी ढंगले बेलगाम पार्टीको नियन्त्रण भन्दा बाहिर हिंड्छ ।

फलस्वरुप पार्टी बिभाजनको अवस्था सम्म पुग्ने वा पार्टी भित्र गुटको चरम विकास हुने गरेको छ । संसदको पार्टीगत आधारमा निर्वाचन हुन्छ । निर्वाचन हरेका ५–५ वर्षमा हुन्छ । संसदमा जुन पार्टीको वहुमत हुन्छ सरकार त्यसैले बनाउँछ । सरकारको नेतृत्व गर्ने अवसर पाएपछि सरकार पार्टीको नियन्त्रण भन्दा बाहिर जानु भनेको बेइमानी मात्र होइन जनताको लगाम भन्दा बाहिर हुनु हो । जनताले समयमै खबरदारी गर्नु पर्दछ ।

नेताहरुले सरकारको नेर्तत्व गर्ने अवसरबाट आर्जन गरेको सबै प्रकारको शक्तिको दुरुपयोग गर्दा पार्टी भित्र गुटको चरम विकास भएको छ । नेपालका हालका सबै पार्टीहरु गुटको मोर्चा जस्ता देखिन्छन् । यस्तो हुनुमा पार्टीको नियन्त्रण भन्दा बाहिरबाट सरकार चलाएर नाजाएज शक्ति आर्जन गर्नु हो । नेपालमा झाँगीएको यो बेथीतिको अन्त्य तत्काल गर्न अत्यावस्यक छ । नत्र जनतामा यो ब्यवस्था प्रति नै बितृष्ण बढ्ने खतरा छ ।

राजनीतिक स्थायित्वसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा बढ्ने आशामा बसेका जनसाधारण विस्तारै निराश हुन थालेका छन्। दुईतिहाइ बहुमत नजिकको बलियो सरकारका गतिविधि सुशासन, विकास र समृद्धिभन्दा दम्भबाट बढी प्रेरित हुन थालेको छ।

प्रधानमन्त्री र मन्त्रीहरूका बोलीमा दम्भको अंश बढ्दै जानु अशुभ संकेत हो। मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकासको अभियानको नेतृत्व गर्ने बलियो प्रधानमन्त्री मुलुकले खोजेकै थियो। जनताले त्यही भएर निर्वाचनबाटै बलियो सरकार स्थापित गरेका हुन्। तर त्यसको अर्थ जनताले जनताको लगाम भन्दा बाहिरको सरकार स्थापित गर्न खोजेका होइनन्।  बेलैमा यसमा लगाम आवश्यक छ।

निरंकुशताविरुद्धको लामो संघर्ष र लामै राजनीतिक उतारचढावपछि आजको अवस्थामा मुलुक आएको हो। अहिलेको राजनीतिक अवस्थामा पुग्न मुलुकले निकै ठूलो मूल्य चुकाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका महान उपलब्धीहरु संस्थागत गर्ने दायित्व बोकेको सरकार नै जनताको नियन्त्रण वा पार्टीको लगाम भन्दा बाहिर हुनखोज्नु चिन्ताको विषय हो।

तपाईको प्रतिक्रिया