Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, १६ कार्तिक २०७७ । झापामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह, कमल गाउँपालिका र दमकका गरि ३ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

कोरोनाका कारण गौरादह-४ को ७० वर्षीय एक पुरुषको मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराइले जानकारी दिनुभयो । ५ दिनअघि कोरोना संक्रमण पुष्टी भएका वृद्धको नोवेल हस्पिटल विराटनगरमा उपचारको क्रममा हिंजो मृत्यु भएको प्रमुख भट्टराईले बताउनुभयो ।

यसअघि कोरोना संक्रमणका कारण गौरादह-१ का ३ जना पुरुषको, ६ नं. वार्डका १ पुरुषको र हिंजो ४ नं. वार्डको १ पुरुष संक्रमितको मृत्यु भएसँगै गौरादहमा कोरोनाका कारण ५ जनाको मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, गौरादहमा हालसम्म ७४ जनामा संक्रमण पुष्टी भएको छ भने, २६ जना सक्रिय संक्रमित उपचारको क्रममा विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य शाखाका प्रमुख भट्टराईले जानकारी दिनभयो ।

यस्तै, कोरोना संक्रमणका कारण कमल-५ को ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । कार्तिक १५ गते विराट मेडिकल कलेजमा संक्रमण पुष्टी भएका वृद्धको होम आइसोलेसनमा आज बिहान मृत्यु भएको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो । आज मृत्यु भएका पुरुषमा र्मिगौलाको समस्या रहेको अर्यालले बताउनुभयो ।

आज १ जना पुरुषको मृत्यु भएसँगै कमलमा हालसम्म कोरोनाका कारण १ जना महिला र २ पुरुष गरि ३ जनाको मृत्यु भएको अर्यालले जानकारी दिनुभयो ।

यस्तैगरी,कमलमा आज समुदायका ५ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोनाको आशंकामा प्रदेश ल्याब विराटनगरमा २९ जनाको स्वाब संकलन गरि पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको अर्यालले जानकारी दिनुभयो । आज संक्रमण पुष्टी भएकाहरुमा कमल-३ का २ महिला र १ पुरुष गरी ३ जना, वार्ड नं. ५ र ६ का १/१ जना पुरुषमा संक्रमण देखिएको जनाइएको छ ।

कमलमा हालसम्म ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने, हाल ८ जना हस्पिटलको आइसोलेसनमा र १५ जना होम आइसोलेनसनमा गरि कुल २३ जना सक्रिय संक्रमित उपचारको लागि आइसोलेसनमा रहेको अर्यालले जानकारी दिनुभयो ।

यस्तैगरी दमक-७ का ४९ वर्षीय १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज मृत्यु भएका पुरुषमा कार्तिक १४ गते विराट नर्सिङ्ग हस्पिटलमा कोरोना पुष्टी भएको थियो । मृतक पुरुषको नोवेल हस्पिटल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको दमकका कोभिड-१९ फोकल पर्सन कुवेर भट्टराईले जानकारी दिनुभयो ।

आज १ जनाको मृत्यु भएसँगै दमकमा ३ महिला र १३ पुरुष गरि १६ जनाको संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । यस्तै, दमकमा हालसम्म ७ सय १९ जनामा संक्रमण देखिएको जनाइएको छ भने, सक्रिय संक्रमित १ सय ५० जनाको विभिन्न आइसोलेसनमा उपचाररत रहेको भट्टराइले जानकारी दिनुभयो ।

यस्तै, दमकमा आज ६३ जनाको पीसीआर परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब संकलन गरि पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया