Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ११ कार्तिक २०७७ । नेपालीहरुको महान चाड दशैँका कारण अधिकांश प्रयोगशालाहरु बन्द हुँदा बितेको २४ घण्टामा परीक्षण ह्वात्तै घटेको छ ।

मुलुकभर पछिल्लो २४ घन्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ११ महिला र ३ सय ५९ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ७ सय २५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १४ लाख ६ सय ९४ जनाको नमुना परीक्षण गरिएको छ । विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेकाले पीसीआर घटेको जनाइएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ हजार ९ सय ३२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४० हजार ६ सय ८१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३२ हजार ४ सय ६४ जना र संस्थागत आइसोलेसनमा ८ हजार २ सय १७ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके, मकवानपुर, नवलपरासी पूर्र्व, काभ्रेप्लान्चोक, कास्की र कैलाली गरि १६ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ८१ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७१ जना व्यक्ति भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया