Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ५ कार्तिक २०७७ । मुलुकभर पछिल्लो २४ घन्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४५ हजार ५ सय ६९ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार १ सय १८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १३ लाख ३४ सय ८ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ हजार ६५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४४ हजार ५ सय ७६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २९ हजार ८ सय जना र संस्थागत आइसोलेसनमा १४ हजार ६ सय ७६ जना रहेका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, डडेल्धुरा, सुर्खेत, दाङ, बाँके, मकवानपुर, काभ्रेप्लान्चोक, कास्की र कैलाली गरि १५ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय ६९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ८७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड(१९ का कारण बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया