Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

सविन खतिवडा
गौरादह, ५ कार्तिक । झापाको गौरादह नगरपालिकाका वृद्धवृद्धा र असहायले सामाजिक सुरक्षा भत्ता नपाए पछि दशैं खल्लो हुने भएको छ ।
कोरोना भाइरस संक्रमणको त्रास तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा भत्ताको साहाराले भएपनि मीठोमसिनो खाने आश बोकेका बिपन्न वृद्धवृद्धा निराश भएका छन् ।

गौरादह नगरपालिकाले ढिला गरी बैंक खातामा रकम निकासा गरेका कारण दशैंमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बैंकहरुले बताएका छन् । गौरादह नगरपालिकाले नगर भित्र रहेका बैंकहरु मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको थियो ।

संघीय सरकारले समयमानै नगरपालिकामा पैसा पठाएको भएता पनि स्थानीय सरकारको लापरवाही र ढिलासुस्तीको कारण नगरपालिका भित्र रहेका बृद्धबृद्धा, एकल महिलाहरु चार्डपर्बका मुखमा भत्ता पाउनबाट बन्चित भएका छन् ।
नगर भित्रका बृद्धबृद्धाहरु दशैमा भत्ता पाउनेमा ढुक्क थिए । आफूले पाउने भत्ता आउँछ र दशै मनाउला भनेर भत्ताको आशा गरेर बसेका बृद्धबृद्धाहरु भत्ता नपाएपछि निरास भएका छन् ।

दशैंमा भत्ता नदिएपछि गौरादहका धेरैजसो ज्येष्ठ नागरिकले दशैंँ कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन् ।
आफूहरु ऋण खोजेर दशैँ मान्न बाध्य भएको गौरादह–४ का ८६ बर्षीय इन्द्रबहादुर थापाले गुनासो गर्नुभयो । कोरोना महामारी र संकट परेका बेला भत्ता नपाउँदा झन् मन खिन्न भएको थापाको भनाइ थियो । त्यस्तै गुनासो छ गौरादह २ का ९० बर्षीय टेकबहादुर खड्काको पनि ।

गौरादह नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता र दलितसहित २१ सय जनाले सामाजिक सुरक्षा भत्ता बापतको रकम दशैंमा सदुपयोग गर्न पाएनन् ।

सरकारले जेष्ठ नागरिकलाई रु तीन हजार, ज्येष्ठ नागरिक एकल महिलालाई रु दुई हजार, विधवालाई रु दुई हजार, दलित ज्येष्ठ नागरिकलाई रु दुई हजार, अपांगता भएका (क) लाई रु तीन हजार, अपांगता भएका (ख) लाई रु एक हजार ६ सय र बाल संरक्षणका लागि रु चार सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया