Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरीगंज, ३ कार्तिक । कोरोना संक्रमितको संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरि गौरीगंज गाउँपालिकाले कोभिड १९ अस्पताल स्थापना गरेको छ। कोरोना भाइरस संक्रमित बिरामीहरुलाई उपचार समेत गर्ने लक्ष्यका साथ ५ बेडको कोभिड १९ अस्पताल स्थापना गरिएको छ।गौरीगंज गाउँपालिकामा वडा नं -६ मा रहेको नव निर्मित स्वास्थ्य चौकी भवनमा कोभिड अस्पताल बनाइएको छ।

गौरीगंज गाउँपालिाकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आइतवार रिवन काटेर औपचारिक रुपमा कोभिड अस्पतालको उद्वघाटन गरेका हुन। गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा अस्थायी रुपमा कोभिड- १९ अस्पताल स्थापना गरिएको हो।

नेपाल सरकारले प्रत्येक स्थानिय तहमा कोभिड १९ अस्पताल स्थापना गर्नुपर्ने नीति अनुरुप पहिलो चरणमा ५ बेडको कोभिड अस्पताल स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए। कोभिड अस्पताल स्थापनाका लागि संघिय सरकारले अस्पताल स्थापना गर्न १० लाख रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय कोभिड १९ संक्रमणका बिरामी दिनप्रतिदिन बढ्दै गएको र ठुला अस्पतालहरुमा बिरामी राख्ने ठाउँको अभाव हुदा आफ्नै ठाउँमा अस्पताल हुदा उपचारमा सहज हुने गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी गराए।गौरीगंजमा स्थापना गरिएको कोभिड अस्पतालमा भेन्टिलेटर बाहेकका सवै सेवाहरु उपलब्ध रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी गराए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गाउँपालिका वडा नं – ६ का वडाध्यक्ष बद्री नारायण यादवको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले अस्पताल स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए। अस्पतालमा डा। नविन घिमिरेको चिकित्सकीय सेवा रहनुका साथै स्टाफ नर्स एञ्जिला खड्का र बिनिता लुइटेलले आलोपालो २४ सै घण्टा सेवा दिने जनाएको छ।

उद्वघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल, छ वटा वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुका साथै ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मी लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया