Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा

गौरादह, ३० असोज २०७७ । झापाको गौरादह नगरपालिकामा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको छ ।

१ जना जनप्रतिनिधि र १ जना व्यवसायी गरि २ जना पुरुषमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो । गौरादह-१ का नगरसभा सदस्य कोमल ढुंगानालाई संक्रमण पुष्टी भएको भट्टराईले बताउनुभयो ।

कोरोना संक्रमण हुनसक्ने आशंकामा पिसिआर परीक्षणका  लागि असोज २८ गते म्याक्स मेडिकेयर दमकमा स्वाब संकलन गरि न्युरो हस्पिटल विराटनगरमा पठाइएकोमा २९ गते संक्रमण पुष्टी भएको ढुंगानाले जानकारी दिनुभयो । कोरोना पुष्टी भएपछी पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताउँनुहुँदै हाल होम आइसोलेसनमा बस्नुभएको ढुंगानाले बताउनुभयो ।

यस्तै, संक्रमण पुष्टी हुने अर्का पुरुष गौरादह-७ को रहनुभएको छ । काठ्माडौंमा होटल सञ्चालन गर्दै आउनुभएका संक्रमित पुरुष घर आउनुभएको बेला संक्रमण हुनसक्ने आशंकामा आफैं सःशुल्क पिसिआर परीक्षण गराउँदा नोवेल हस्पिटल विराटनगरमा कोरोना पोजेटिभ देखिएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

आज २ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २७ पुरुष गरि ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादहमा ८ महिला र १६ पुरुष गरि २४ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल २ जना महिला र १० पुरुष गरि १२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा १ जना जनप्रतिनिधि सहित ३ जना होम आइसोलेसनमा र ७ जना गौरादह-७ को जुरोपानी स्वास्थ्य चौकी नयाँ भवनको आइसोलेसनमा र २ जना हस्पिटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया