Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

गौरादह, २८ असोज । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमक –६ झापाको ११ औं वार्षिक साधारणसभा सम्पन्नार्थ गौरादहमा सुझाव संकलन तथा प्रतिवेदन वितरण गरिएको छ । असोज २४ गतेबाट सुरु भएको संस्थाको प्रतिवेदन वितरण तथा सुुझाव संकलन कार्यक्रम चार फरक फरक स्थानमा सम्पन्न गरिएको हो ।

सहकारीले शेयर सदस्यहरुलाई भौगोलिक रुपमा पायक पर्ने स्थानहरु क्रमशः दमकको मुख्य कार्यलयबाट, शिवसताक्षीको झिलझिलेबाट, दमकको बेलडाँगीबाट र गौरादहबाट प्रतिवेदन वितरण, सुझाव संकलन तथा उपस्थिति गराइएको संस्थाका कर्मचारी धुर्व अधिकारीले जानकारी गराए ।

कोभिड १९ को कारणबाट भिडभाड नगरी जनस्वस्थ्य सुरक्षाका मापदण्ड पालना गरी संस्थाको साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी बिभागको निर्देशन बमोजिम आफ्नो कार्यक्षेत्रका शेयर सदस्यहरुलाई अनुकुल हुनेगरी साधारणसभाका लागि अलग अलग स्थानमा उपस्थित गराइएको संस्थाका अध्यक्ष रवि न्यौपानेले जानकारी गराए ।

झापा जिल्लाभरी कार्यक्षेत्र भएको यस सहकारीमा आर्थिक बर्ष २०७६।०७७ सम्ममा ४ हजार ७ सय ६६ जना शेयर सदस्यहरु छन् भने कुल शेयर पुँजी ७ करोड ४४ लाख २० हजार ९ सय रहेको छ । संस्थाको उक्त आवमा कुल कारोबार ७९ करोड १ लाख २८ हजार ३ सय ७० रहेको र २ करोड १८ लाख ८७ हजार २ सय ५२ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनले देखाएको छ ।

संस्थाका अध्यक्ष न्यौपानेले दमक – ६ मा रहेको आफनै भवनबाट कारोबार शुरु गरेर गरिमामय साधारण सभा गर्न पाउनु संस्था र आम सदस्यहरुका लागि गौरवको बिषय भएको बताएका छन् । संस्थाको वार्षिक साधारणसभा समापन कार्तीक २ गते आफ्नै भवनमा गरिने समेत उनले बताए ।

संस्थाका अध्यक्ष न्यौपानेको सभापतित्वमा गौरादहको धोविनियामा सम्पन्न प्रतिवेदन वितरण तथा सुझाव संकलन कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी र शेयर सदस्यहरु, संचारकर्मी लागाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments