
आस्था बन्दक राखेर
विश्वासको भर्याङ्ग भाँची
क्रान्ति बाँकी छ भन्छौ !
त्याग र बलिदानको आँगनिमा
जाल, झेल, छल, कपट र
ढाँटको बिस्कुन सुकाउदै
संघर्ष जारी छ भन्छौ !
विचारको बीभत्स हत्यागरी
फगत वादको खोल ओडेर
सिद्धान्तको सिंउर उखेल्दै
आफूलाई कम्युनिस्ट भन्छौ !
वर्ग दुश्मन संग घाँटी जोडेर
झुपडीको दुई छाक टार्ने
सपनाको आकाश समेत
लिलाम गराइदियौ अनि
मुक्ति सम्भव छ भन्छौ !
तिम्रा सपथ र संकल्पहरु
आफैं कुल्चिएर विश्वासघात गर्दै
दलाल पुजीवादको टाँगमुनि छिरेर
यो समाजवादको यात्रा हो भन्छौ !
नोट र भोटको दम्भ बोकेर
रोग भोक र शोकको व्यापारमा
लाभको भागबन्डा नमिल्दा
मुर्दावाद पनि पो भन्छौ !
मतदानबाट चुनिएको प्रिय अनुहार
हेर्दाहेर्दै दलालमा रुपान्तरित भयौ
जनताको सेवकबाट मालिक बन्यौ
सर्बत्र छोटेराजा कहलिदै
हुकुम प्रबाङ्गीबाट चल्छौ चलाउछौ
भन्नलाई राज संस्था ढल्यो भन्छौ !
कठै ! रक्षक नै भक्षक बन्ने होडमा
कुकुर पनि धोखेबाज ब्वासो बन्यो
डनवाद र धनवादमा लिप्त हुँदै
महङ्गी र कालाबजारी पस्कदै
सर्वहाराको अधिनायकत्व भन्छौ !
एकता-संघर्ष-रुपान्तरण चरितार्थ भयो
समाजवादीहरु दलाल पुजीवादी बने
पथ प्रदर्शक वादका आदर्श थन्किए
व्यवहारहरु परिवर्तनको विरुद्धमा छन्
भन्न चै संघीय लोकतान्त्रिक गणतन्त्र
जिन्दावाद !!! भन्छौ !