Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १८ असोज २०७७ । मुलुकभर कोरोना संक्रमितको संख्या उच्च रुपमा बढ्दै आज थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ८ सय ३० महिला र १ हजार ४ सय २३ पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय २९ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ७ सय ८४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १० लाख ७४ हजार ४ सय ४८ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार २ सय ३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २२ हजार २ सय १९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ११ हजार ८ सय ९३ जना र संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सिराहा गरि ७ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ, मुस्ताङ र डोल्पा गरी ३ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म २ सय २६ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३४ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज ५ दिनको बालिका सहित ७ जनाकोे मृत्यु भएको छ । जसमा ४ महिला र ३ पुरुष रहेका छन् । मृत्युहुनेहरुमा मकवानपुरकी ५ दिनकी बालिका, चितवनकी ५५ वर्षीया महिला, बाँकेकी २५ वर्षीया महिला र कञ्चनपुरकी २९ वर्षीया महिला रहेका छन् । यस्तै, काठ्माडौंका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया