Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ११ असोज २०७७ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं.२०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई दिने निर्णय गरेको हो ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरिएको छ ।

उहाँ पूर्वीय दर्शन तथा माक्र्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखकका रुपमा परिचित रहेको पनि प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार वितरण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया