Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

शान्ति सुब्बा
गौरादह, ४ असोज २०७७ । झापाको गौरादहमा कोरोना संक्रमण हुन सक्ने आशंकामा समुदायका र क्वारेन्टाइनका गरि ६७ जनाको स्वाब संकलन गरिएको छ । जसमा १७ महिला र ५० पुरुष रहेका छन् । जसमध्ये समुदायका मात्र २९ जना रहेका छन् भने, क्वारेन्टाइनका ३८ जना रहेका छन ।

यहि भदौ ३१ गते गौरादह-५ की एक महिलामा संक्रमण पुष्टी भएपछी कन्टयाक्ट ट्रेसिङको आधारमा उनको प्रत्यक्ष सम्पर्कमा आएका ८ जना महिला र ३ जना पुरुष गरि ११ जनाको स्वाब संकलन गरिएको छ ।

यस्तै, दमक नगरपालिकाका कोरोना संक्रमित एक व्यापारीको प्रत्यक्ष सम्पर्कमा आएका गौरादह-५ कै १६ जना पुरुष र ज्वरो आएकी एक महिला गरि १७ जना जसमा १२ जना अटो चालक रहेका छन् ।

त्यस्तैगरी जुरोपानी सामुदायीक भवन क्वारेन्टाइनमा बसेका ७ महिला र ३१ पुरुष गरि ३८ जना र संक्रमित युवतिको फ्लोअप परीक्षण गर्दै पीसीआर परीक्षणका लागि ति सबैको स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोे गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज स्वाब संकलन गरिएकाहरु ७ महिना देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएका सबै गौरादह नगरपालिका भित्रकै रहेको जनाइएको छ ।

हालसम्म गौरादहमा ६ महिला र १४ पुरुष गरि २० जनामा संक्रमण पुष्टी भइसकेको छ । जसमा १९ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । १ जना संक्रमित होम आइसोलेसनमा रहेको जनाइएको छ ।

यस्तै, जुरोपानी सामुदायीक भवनको क्वारेन्टाइनमा ३८ जना, नमुनाखेती पाहुना घरको क्वारेन्टाइनमा १४ जना र जनता मा.वि को क्वारेन्टाइनमा १३ जना गरि हाल गौरादह नगरपालिकाको क्वारेन्टाइनमा ६५ जना रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले बताउनुभयो ।

गौरादहमा हालसम्म १ हजार ४ सय ६० जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमा २ सय ५९ महिला र १ हजार २ सय १ जना पुरुष रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया