Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024
गौरीगंज २, असोज र गौरीगंज गाउँपालिकामा पछिल्लो समय आपराधिक गतिविधि बढेको भन्दै प्रहरीले कडा निगरानी गर्न थालेको छ । आपराधिक गतिविधिलाई न्युनिकरणका लागि गौरीगंज प्रहरीले १० वटा किट ( लागुऔषध सेवन गरे नगरेको जाच्ने ) मगाएको छ । पछिल्लो समय गौरीगंज क्षेत्रमा लागुऔषध सेवन गरि आपराधिक गतिविधि गर्ने समूह सक्रिय भएको भन्दै प्रहरीले कीट मगाएको हो ।
ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार पहिलो चरणमा १० वटा कीट मगाएको जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि व्यत्तिलाई लागुऔषध सेवन गरेको प्रहरीलाई आशंका लागेमा त्यो व्यत्तिको पिसाबमा कीट प्रयोग गरि फेन्सिटल सेवन गरेको हो कि वा गाजा, चरेस, अफिम वा अरू कुनै प्रकारको लागुऔषध सेवन गरेको पत्ता लगाउन सकिने छ ।
एउटा किट एक व्यत्तिलाई मात्रै जाच्न सकिने भएकोले लागुऔषध सेवन गरेको प्रमाणित भए कानुन बमोजिम कार्वाही गर्न प्रहरीले कुनै कसर बाकी नराख्ने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
आपरािधक गतिविधि न्युनिकरणका लागि प्रहरीले पिक आवरमा दिनको दुई पटक सीमा क्षेत्रमा चेक जाँच गर्ने गरेको र फत्तेपुर सीमानाकामा सशस्त्र प्रहरी टोलीले सीमा वारिपारी गर्ने प्रत्येक व्यत्तिलाई चेक जाँच गर्ने र त्यसको रेकर्ड राख्ने गरेको सशस्त्र सीमा सुरक्षा बल गौरीगंजका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।
प्रहरीले हप्ता दिन भित्र लागुऔषध सेवन गरेको आशंकामा ९ जनालाई पक्राउ गरि सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गर्ने समूह गौरीगंजमा बढ्दै गएको भन्दै गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यसलाई नियन्त्रण गर्न गाउँपालिका कुनैकसर बाकी नराख्ने बताउनुभयो ।उहाँले लागुऔषध सेवन गर्ने १५ वर्ष देखि २५ वर्षका युवाहरू गौरीगंजमा ७० प्रतिशत रहेको जनाउदै यसको न्युनिकरणका लागि नागरिक समाज, बुद्धिजीवी, प्रशासन, प्रहरीसंग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो । सुरक्षित गौरीगंज गाउँपालिकाकाको प्रत्याभूति नागरिकलाई दिलाउन सुरक्षा निकायको लागि आवश्यक बजेटको पनि व्यवस्था गरेको उहाले बताउनुभयो ।
भारतीय सीमासंग जोडिएको गौरीगंज क्षेत्र खुल्ला सीमाको प्रयोग गर्दै आपराधिक गतिविधि गर्ने समुहहरू सक्रिय भएकोले भारतिय नम्बर प्लेटका मोटरसाइकलमा कडा चेक जाँच र निगरानी राख्ने गरेको ट्राफिक प्रहरी गौरीगंजले जनाएको छ । ट्राफिक प्रहरीले सीमा नजिक सिमाबाट नेपाल भित्र २ किलोमिटर क्षेत्रमा ट्राफिक चेक जाँच गर्ने गरेको ट्राफिक प्रहरी गौरीगंजका प्रमुख गोकुल आचार्यले जानकारी दिनुभयो । कोचिला न्युजबाट
तपाईको प्रतिक्रिया