Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

जनकपुर, २ असोज २०७७ । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ ।

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्‍ने रेलवे विभागले जनाएको छ ।

नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ ।

रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘रेलको दुवै सेट शुक्रबार जनकपुर आइपुग्ने सम्भावना छ,’ ‘जनकपुरका लागि रेल हिँडिसकेको छ । भारतभित्र छ । शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्छ ।’

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

‘शुक्रबार रेलको सेट बुझ्ने मात्र हो । कुनै औपचारिक कार्यक्रम राखिएको छैन,’ विभागका महानिर्देशक मिश्रले भने, ‘भारतबाट कोंकण रेलवेजको टिम पनि रेलसँगै आउँदै छन् । रेलको कोच (बोगी) बनाउने इन्टेरियल कोच फ्याक्ट्रीका प्राविधिक टिमले नै रेल गुडाएर ल्याउँदै छन् ।’

ट्रायलका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो गर्न बाँकी नै छ । नेपाल रेलवेका अधिकारीहरूका अनुसार सबै चाँजोपाँजो मिलेमा एक महिनाभित्रै नियमित सेवा थालिनेछ ।

शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ । बिजलपुरादेखि पूर्व–पश्चिम राजमार्ग छुन्ने बर्दिवाससम्मको १७ किमिमा भने जग्गा अधिग्रहण र मुआब्जाको झमेलाले निर्माण प्रक्रिया लम्बिएको छ ।

रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरेको छ ।कान्तिपुर बाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments