Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

पत्रपत्रिकाबाट

काठमाडौं, २९ भदौ । धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन मेथानल मिश्रित रहेछ भने के होला ? त्यसमाथि बच्चाको हातमा प¥यो भने ? यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले मेथानल मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न सल्लाह दिन्छन्।

‘मेथानल विषाक्त हो। बच्चाबच्चीको कमलो छालामा बारम्बार घस्दा विषाक्त रसायन छालाले सोस्छ। त्यसले दीर्घकालमा दृष्टि क्षमतामा असर गर्छ। मुखमा परे ज्यानसमेत जान्छ’, डा। काफ्ले भन्छन्, ‘साबुनपानीले मिचीमिची हात धुनु जत्तिको राम्रो अरू केही होइन।’

नेपाल औषधि व्यवस्था विभागले विषाक्त स्यानिटाइजर कहाँ–कति छ भनेर लेखाजोखा गर्न सकेको छैन। सीमित साधनस्रोत र जनशक्तिका कारण अनुगमन गर्न नसक्दा बजारमा गुणस्तरहीन उत्पादन छ्यापछ्याप्ती छ। कतिपयले थाहा नपाएरै विषाक्त स्यानिटाइजर घरका कोठा–कोठामा सजाएका छन्। उत्पादक कम्पनीले स्यानिटाइजरको लेभलमा मेथानल मिसाइएको उल्लेख नगरी बिक्रीवितरण गरिरहेकाले सचेत हुन विज्ञको सुझाव छ।

कोरोना महामारीमा अत्यधिक उपयोग भइरहेको स्यानिटाइजरमा मेथानल मिसाउने कार्य नेपालसहित विभिन्न मुलुकमा भइरहेको छ। विभागका महानिर्देशक नारायण ढकाल स्वदेशमा उत्पादित र विदेशबाट आयातीत सबै स्यानिटाइजरको परीक्षण गर्न नसकिएको स्वीकार गर्छन्।

‘केही नमुना संकलन गरी परीक्षण गर्दा पाँचवटा कम्पनीको स्यानिटाइजरमा विषाक्त पायौं’, महानिर्देशक ढकाल भन्छन्, ‘अरू थप स्यानिटाइजर पनि परीक्षण गर्दै छौं।’ आयातीत स्यानिटाइजर पनि गुणस्तरहीन हुन सक्ने उनको ठम्याइ छ।

गुणस्तरहीन स्यानिटाइजरका कारण कतिपयको छालामा एलर्जी देखिएको छ। डा। काफ्लेका अनुसार अमेरिकामा पनि मेथानल मिश्रित स्यानिटाइजर प्रयोग नगर्न सरकारले आह्वान गरेको छ। ‘मेथानल पेटमा पुगेपछि बान्ता हुन्छ। रक्सी बनाउँदा पनि मेथानलको प्रयोग हुन्छ’, उनी भन्छन्, ‘रक्सी खाएर कसैको ज्यान जान्छ भने त्यसको कारक मेथानल हो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments