Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पत्रपत्रिकाबाट
भक्तपुर, २९ भदौ । चाँगुनारायण नगरपालिकाले बेरोजगार युवालाई उद्यम गर्न बिना ब्याज तीन लाख रुपियाँ प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किएका नगर भित्रका बेरोजगार युवालाई तीन लाख रुपियाँ दिइने भएको हो ।

नगरपालिकाले गत असारमा सम्पन्न सातौँ नगर सभाले मेयरसँग उद्यमशील कार्यक्रम नगरपालिकाको नीति, कार्यक्रम र बजेटमै समावेश गरेको थियो । सो कार्यक्रम नगरपालिकाले असोज १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । यस वर्ष नगरपालिकाले नौ सय युवालाई उद्यमशील बनाई रोजगार दिनेगरी नगरपालिकाले योजना अगाडि बढाएको छ ।

सो कार्यका लागि नगरपालिकाले नेपाल बैङ्कसँग सम्झौता गरिसकेको छ । बेरोजगार युवाले बैङ्कमा तिर्नुपर्ने रकमको ब्याज नगरपालिकाले तिर्ने गरी व्यवस्था गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल तीन करोड रुपियाँ नगरपालिकाले बैङ्कमा जम्मा गर्ने र नगरपालिकाले सिफारिस गरिएका व्यक्तिलाई बैङ्कले ऋण प्रदान गर्नेछ ।

बैङ्कले युवालाई बिना धितो रकम प्रदान गर्नेछ । बैङ्कबाट ऋण लिएका युवाले पाँच वर्षभित्र तिरिसक्नुपर्नेछ । मासिक पाँच हजारका दरले ऋण तिर्दै जाँदा पाँच वर्षमा ऋण तिरिसक्ने गरी नगरपालिकाले युवालाई ऋण प्रदान गरेको हो ।

कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्थानीय स्तरमै उद्यमशील बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । उद्यमशील बनाउन सीप सिकाएर बिना ब्याज तीन लाख रुपियाँ उपलब्ध गराइने नगरप्रमुख मिश्रले बताउनुभयो । युवाले गरेका कामको अनुगमन बैङ्क र नगरपालिकाले नियमित रूपमा गर्नेछन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

तपाईको प्रतिक्रिया