Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिकाबाट
सदरमुकाममा चामल थुप्रियो, उपल्लो डोल्पामा खाद्यान्न अभाव, हेलिकोप्टरमार्फत चामल पठाउन आपूर्तिमन्त्रीलाई पत्र
२९ भदौ २०७७ । उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन सकेको छैन । जसले गर्दा डोल्पा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।

उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ । तर, एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा चामल ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताए । ‘एक वर्षदेखि कत्ति पनि चामल पठाउन सकिएको छैन । त्यहाँको उत्पादनले पुग्दैन, यहाँबाट नपठाउँदा खाद्यान्न अभाव हुन्छ,’ पाण्डेले भने ।

उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तेन्जीमा बिक्रीकेन्द्र राखेको छ । दुवै डिपोबाट तीन हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ । त्यहीँबाट स्थानीयले खरिद गर्दै आएका थिए । तर, एक वर्षदेखि भने दुवै बिक्रीकेन्द्र रित्ता छन् ।

गत वर्ष उपल्लो डोल्पाका बासिन्दाले हिँडेर सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए । तर, यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए । ‘कोरोनाका कारण आवतजावत रोकिएकाले उपल्लो डोल्पावासी बाहिर निस्किन सकेका छैनन् । सरकारले पनि चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘धेरै ढिलो भइसक्यो । अब हवाईमार्गबाट ढुवानी गर्नुपर्छ । तत्काल ढुवानी भएन भने उपल्लो डोल्पाका बासिन्दाले भोकै बस्नुपर्ने अवस्था आउँछ ।’

उपल्लो डोल्पाका लागि काठमाडौंबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गरिँदै आएको थियो । कोरोनाका कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन । चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गथ्र्यो । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन । डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा तीन स्थानीय तह छन् ।

अझ माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि सरकारी अनुदानको चामल पाएका छैनन् । तिन्जे बिक्रीकेन्द्रबाट गाउँपालिकाका नागरिकले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुवानीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नपाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताए ।

डोल्पा सदरमुकाम र आसपासका बिक्रीकेन्द्रमा चामल थन्किएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख पाण्डेका अनुसार सदरमुकाम दुनैमा एक हजार दुई सय ८०, जुफालमा एक हजार दुई सय, सर्मीमा दुई सय ९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात छ । गत आर्थिक वर्षमा ढुवानी हुन नसकेपछि यस आर्थिक वर्षका लागि त ठेक्का पनि भएको छैन ।

उपल्लो डोल्पामा असोजदेखि हिमपात हुन्छ । त्यसपछि हवाईमार्गबाट पनि ढुवानी गर्न सकिँदैन । यो महिनाभित्रै ढुवानी गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । ‘असोजमा हिमपातले समस्या हुने भएकाले यो महिनामै चामल ढुवानी गर्न पहल गरिरहेका छौँ,’ प्रजिअ सुनारले भने ।

चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र पठाएर तत्काल हवाईमार्गबाट चामल ढुवानी गर्न आग्रह गरेका हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाले पठाएको पत्रमा तत्काल हवाईमार्गबाट उपल्लो डोल्पाको मरिम्ला र तिन्जीसम्म खाद्यान्न ढुवानी गर्न आग्रह गरेको छ । स्थानीय उत्पादन आलु, उवालाई सलह र असिनाले क्षति पुगेकाले समस्या भएको डोल्पोबुद्ध गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमराज खड्काले बताए । घोडा, खच्चड र आफैँले बोकेर ल्याएको अन्न रित्तिएपछि उपल्लो डोल्पामा तीनवटा स्थानीय निकाय संकटमा परेको फोक्सुन्डो गाउँपलिका– ४ का पसी गुरुङले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

तपाईको प्रतिक्रिया