Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, २८ भदौ २०७७ । मुलुकभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो छ।

नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बाट प्राप्त विवरणअनुसार आइतबारसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड-१९ देखिसकेको छ।

संक्रमितमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन्। निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतको भनाइ छ।

गत माघ ९ गते चीनको वुहानबाट आएका एक नेपालीमा कोभिड-१९ देखिएपछि त्यसको रोकथामका लागि सरकारले आवश्यक योजना बनाउन थाल्दा नेपाली सुरक्षाकर्मीले सम्भावित जोखिम आङ्कलन गरेर आन्तरिक तयारी थालेका थिए।

मुलुकमा अकस्मात आइपर्ने महामारी, राष्ट्रिय विपद् होस् या हूलदङ्गा सबै नियन्त्रणको नेतृत्व लिँदै आम-नागरिकलाई सुरक्षाको पूर्ण-प्रत्याभूति दिलाउने जिम्मेवारी सुरक्षा निकायको काँधमा छ।

आइपर्ने जोखिम मोल्न तयार भएर यसपालिको कोभिड-१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपत्विपद् र शान्तिसुरक्षामा खटिएकै बेलामा सङ्क्रमण भएका छन्।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर ७७ जिल्लामा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मीमा पछिल्लो समयमा नियमित सङ्क्रमण देखिन थालेको छ। पछिल्लो एक साताको विवरणले सुरक्षा निकायमा सङ्क्रमणको क्रम बढ्दो देखाउँछ। एक सातामै एक हजार ५०० बढी सुरक्षाकर्मी कोरोना सङ्क्रमित भएका छन्। मुलुकभर सङ्क्रमण दरमा बढिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव सुरक्षा निकायमा प्रस्ट देखिन्छ।

गत वैशाखबाट सुरक्षा निकायमा सङ्क्रमण देखिएको थियो। जेठको पहिलो सातासम्म १२ सुरक्षाकर्मीमा सङ्क्रमण थियो । नेपाल प्रहरीतर्फ जेठ ३ गते एक प्रहरी जवान पहिलो सङ्क्रमित भएका थिए।

सुरक्षा निकायमा देखिएको सङ्क्रमणमध्ये सबैभन्दा बढी नेपाल प्रहरीमा छ। त्यसपछि नेपाली सेनामा बढी देखिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कडायतले अधिकांश लक्षणविहीन रहेको र धेरै निको भएर घर फर्किसकेको बताए।

नेपाल प्रहरीमा सबैभन्दा बढी सङ्क्रमण

हालसम्म चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरी सङ्क्रमित भएका छन्। सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार हुने भएकाले प्रहरी बढी प्रभावित भएको देखिन्छ।

नेपाल प्रहरीमा आइतबारसम्म दुई हजार ८१७ मा सङ्क्रमण भएको छ। उनीहरूमध्ये एक हजार २३३ प्रहरी निको भएर कार्यस्थलमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी जोखिम आङ्कलन गरेरै आवश्यक सुरक्षा सावधानीका साथ कार्यक्षेत्रमा खटिँदै आएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन्।

नेपाली सेनाका १३ सय बढी संक्रमित

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार नेपाली सेनामा पछिल्लो एक सातामा सङ्क्रमित ह्वात्तै बढेको छ। अहिलेसम्म कूल एक हजार ३८३ मध्ये झण्डै ७०० पछिल्लो एक हप्तामै सङ्क्रमित भएका छन् । सबैभन्दा बढी मध्यपूर्वी पृतनामा १८९ जना सङ्क्रमित छन्। उपत्यकामा १८४, मध्यपश्चिम पृतनामा १५४ मा सङ्क्रमण देखिएको छ। सेनाका ५६ स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका छन्।

पौडेलका अनुसार सङ्क्रमितमध्ये २९४ निको भएर कार्यक्षेत्रमा खटिएको र बाँकीको उपचार जारी छ। पछिल्लो एक हप्तामै सङ्क्रमणदर एक्कासि बढ्दा निको हुने प्रतिशत कम देखिएको बताए।

सशस्त्र प्रहरीका ९१५ पोजिटिभ

सशस्त्र प्रहरी बल नेपालका ९१५ जना सङ्क्रमित भएका छन्। त्यसमध्ये झण्डै ५५ प्रतिशत निको भएका छन्। हाल ४३५ उपचाररत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए।

सशस्त्र प्रहरीका अधिकांशमा लक्षण देखिएको छैन। मुख्यगरी सीमा नियन्त्रण, भीडभाड नियन्त्रण, आइसोलेसन व्यवस्थापन, सर्वसाधारणको सुरक्षा, भीडभाड नियन्त्रण, सडक सुरक्षामा बसेका बेला उनीहरू सङ्क्रमित हुन पुगेका अर्यालको भनाइ छ। आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने गरिए पनि सङ्क्रमण हुने क्रम भने रोकिएको छैन।

राष्ट्रिय अनुसन्धानका २० जनामा कोरोना

सरकारका लागि सम्भावित जोखिमको सूचना सङ्कलनमा सादा पोसाकमा खटिने राष्ट्रिय अनुसन्धान विभागका २० जनामा पनि कोरोना देखिएको छ।

प्राप्त विवरणअनुसार विभागअन्तर्गत रहेको उनीहरूमध्ये अहिले ११ जना उपचाररत छन्। प्रदेश २ मा सबैभन्दा बढी नौ जना सङ्क्रमित छन्।

वाग्मती प्रदेश सात, गण्डकी एक, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेश एक जनामा सङ्क्रमित देखिएको विभागले जनाएको छ। विभागका एक सुरक्षा अधिकारीले कसैलाई पनि लक्षण नदेखिएको र आइसोलेसनमा भएकाबाहेक सबै उच्च मनोबलका साथ काम गरिरहेको उनले जानकारी दिए। रासस

तपाईको प्रतिक्रिया