Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २३ भदौ २०७७ । देशभर ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ९ सय २ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ८७ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६ सय ११ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ३ सय १० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित हुनेको संख्या १४ हजार ८ सय ६८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ हजार ८ सय १५ जना र संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म १ सय ४४ जना संक्रमित आइसियुमा रहेका छन् भने, २३ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यसैबीच, कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । प्रवक्ता डा गौतमले मृतकमा १ महिला र ६ जना पुरुष रहेको बताए ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुने काठमाडौँकी ८० वर्षीया महिला रहेकी छिन् ।
त्यसैगरी पुरुषहरुमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय, काठमाडौंका ८५ वर्षीय र कपिलवस्तुका ६२ वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३०६ पुगेको छ ।

तपाईको प्रतिक्रिया