शान्ति सुब्बा
कमल, १८ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा बिहिबार (आज) समुदायका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ४ महिला र २ पुरुष रहेका छन् ।
आज कोरोना संक्रमण पुष्टी हुने ६ जना समुदायमा रहेका व्यवसायी लगायतका व्यक्तिहरु रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।
यहि भदौ १५ गते समुदायका र क्वारेन्टाइनका गरि ६६ जनाको स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएकोमा हिंजो ३ महिलामा र ३ पुरुष गरि ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
जसमा ५० जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने, १० जनाको पीसीआर रिपोर्ट भने आउन बाँकी रहेकोमा आज पुनः १० जना बाट ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ भने, ४ जनाको रिपोर्ट नेगेटिभ आएको थुलुङ्गले बताए ।
आज संक्रमित हुनेहरु २० वर्ष देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।
आज संक्रमण पुस्टि भएका ६ जना कमल गाउँपालिका-३ केर्खाको स्थानीय व्यक्तिहरु रहेको जनाइएको छ । उनिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको थियोे ।
आज ६ जनामा संक्रमण पुष्टी भएसँगै कमल गाउँपालिकामा कोरोना संक्रमित हुनेको संख्या १४ महिला र २३ पुरुष गरि संक्रमितको संख्या ३७ पुगेको थुलुङ्गले बताए । ३७ कोरोना संक्रमित मध्ये हालसम्म ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने, कमल-३ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने, २९ जना आइसोलेसनमा रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।






