Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १७ भदौ २०७७ । पछिल्लो २४ घण्टामा देशभर आज थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ सय २० महिला र ८ सय पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय १२ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुुगेको छ ।
यस्तै, मन्त्रालयका अनुसार ६ हजार ७ सय ६६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई १८ हजार १ सय ८ बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना र संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही गरि १२ जिल्ला रहेका छन् ।

यस्तै, सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, मुस्ताङ, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् । हालसम्म १ सय ४४ जना संक्रमित आइसियुमा रहेका छन् भने, १८ जना भेन्टिलेटरमा रहेको जागेश्वरले बताए ।

यसैबीच, कोरोनाभाइरसबाट देशभर थप १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया