Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

पत्रपत्रिका समाचार
काठमाडौं, १७ भदौ । युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको हो । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ ।

एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । बुधबार कार्यालय गएर बुझ्ने उनको भनाइ छ । सरकारले ८ सय कोटा तोकेको र सोहीअनुसार प्रस्ताव अध्ययन गरेर मात्रै निर्णय लिने सचिव अधिकारीले बताए ।

एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म चार्टर उडान प्रस्ताव गरेको हो । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ ।

भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो । सरकारले १७ भदौदेखि नियमित उडानसमेत खुला गर्दै छ । जसमा नागरिक उड्डयन प्राधिकरणले चार्टर र नियमित दुवै उडानका सेड्युलसमेत सार्वजनिक गरिसकेको छ । जसमा दैनिक एक चार्टर र दुई नियमित उडान गर्ने गरी सेड्युल सार्वजनिक गरेको छ । सरकारले १७ भदौदेखि २९ दिनको तालिका सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया