Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १५ भदौ २०७७ । पछिल्लो २४ घण्टामा आज थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ सय ३ महिला र ५ सय ९६ पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५ सय ८८ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४ सय १० पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १ सय २९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ९३ हजार ४ सय ७२ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ३ सय ३७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा होम आइसोलेशनमा ७ हजार १ सय २१ जना र संस्थागत आइसोलेसनमा १० हजार ७ सय १ जना बिरामी उपचाररत रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता जागेश्वरका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठ्माडौं, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । हुम्ला र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् । हालसम्म १ सय ३२ जना संक्रमित आइसियुमा रहेका छन् भने, १६ जना भेन्टिलेटरमा रहेको जागेश्वरले बताए ।

यसैबीच, कोरोना संक्रमणबाट २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकहरूमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।

महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय , चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

तपाईको प्रतिक्रिया