Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

१४, भदौ २०७७ एजेन्सी

सोल/लन्डन — वैज्ञानिकहरूले गरेको एक अध्ययनमा बालबालिकाको नाकमा तीन सातासम्म कोरोना भाइरस रहन सक्ने देखिएको छ । दक्षिण कोरियाका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा यस्तो देखिएको हो ।

यसअघिका अध्ययनमा अधिकांश बालबालिकामा भाइरसका लक्षणहरू नदेखिने पत्ता लागेको थियो भने केहीमा मध्यम खालका लक्षणहरू देखिने जनाइएको थियो । तर पछिल्लो अध्ययनका नतिजाले बालबालिकाले कसरी कोरोना भाइरस सार्छन् भन्ने अनुत्तरित प्रश्नलाई प्रस्ट पारिदिएको छ । बालबालिकाहरू विद्यालय जान थालेपछि सामाजिक दूरी कायम गर्न, गराउन तथा शारीरिक सफाइमा विशेष ध्यान दिन पनि अध्ययनले जोड दिएको छ ।

रोयल कलेजको बाल चिकित्सा तथा बाल स्वास्थ्यका अध्यक्ष प्राध्यापक रसेल भिनरले आफ्नो नेतृत्वमा खासगरी बालबालिका र भाइरससम्बन्धी विभिन्न पक्षबारे अध्ययन गरिएको बताए । बालबालिकामा भाइरसको आक्रमण, त्यसका कारण हुने बिरामी र अरूलाई सार्ने जोखिम मुख्य छन् । बालबालिकालाई भाइरस लाग्ने कुरालाई नकार्न नसकिने भए पनि प्राध्यापक भिनरले खासगरी १२ वर्षभन्दा मुनिकालाई अन्य व्यक्तिहरूको तुलनामा भाइरसले कम असर गर्ने उनीहरूको रगतको एन्टिबडी परीक्षणबाट पुष्टि भएको बताए ।

बेलायतका वैज्ञानिकहरूको एक अध्ययनले पनि कोरोना भाइरस संक्रमित बालबालिकाहरू अन्य संक्रमितहरूको तुलनामा कम बिरामी पर्ने पुष्टि गरेको छ । लक्षण कम देखिएका वा नदेखिएका बालबालिकाहरूको स्वाबमा तीन सातासम्म भाइरस क्रियाशील रहने देखिएको हो । यसको अर्थ संक्रमित बालबालिकाले तीन सातासम्म अन्य व्यक्तिलाई भाइरस सार्न सक्ने अध्ययनमा जनाइएको छ । उक्त अध्ययन ९१ जना संक्रमित बालबालिकाहरूमा गरिएको बीबीसीले उल्लेख गरेको छ ।

जसरी दक्षिण कोरियाले लक्षण नदेखिएकाहरूलाई पनि परीक्षण गर्ने, ट्रेसिङ गर्ने र आइसोलेसनमा राख्ने गरेको छ । त्यसरी नै यो समूहकालाई फरक स्थानमा राख्ने गरेको छ । संक्रमित रहेको पत्ता लागेपछि त्यस्ता बालबालिकालाई तीन सातासम्म बारम्बार परीक्षण गरी भाइरस नरहेको यकिन गर्ने गरिएको छ । यसका आधारमा उक्त अध्ययनले बालबालिकाहरू भाइरसको वाहक रहेको नयाँ तथ्य सार्वजनिक गर्न सकेको हो । तर अन्य अध्ययनले जस्तै यसले पनि केही प्रश्नहरू अनुत्तरित नै छाडेको छ । बालबालिकाको नाकमा भाइरस हुनुको अर्थ त्यतिबेला नै उनीहरूले अन्य व्यक्तिहरूलाई सार्छन् भन्ने कुराको भने कुनै प्रमाण देखिँदैन ।

अमेरिकाको वासिङ्टन डीसीस्थित एक अस्पतालका बालरोग शाखाका प्रमुख डा। रोबर्ट डिबियासीले ‘भाइरस संक्रमणमा बालबालिकाको कुनै भूमिका हुँदैन भन्नु तर्कपूर्ण नहुने’ बताउँछन् । तर बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक कालुन सेम्पलले ‘यथेष्ट खकार र सिंगान निस्कने संक्रमितको तुलनामा लक्षण नदेखिएकाहरूबाट भाइरस सर्ने सम्भावना निकै कम’ रहेको बताउँछन् । डिबियासीको भनाइमा सामान्यतः लक्षणहरू कम देखिएका वा नदेखिएका जुनसुकै उमेर समूहका संक्रमितहरू भए पनि तिनीहरूले खकार र सिँगान निकाल्दैनन् । र, त्यस्ता संक्रमितले अन्यलाई भाइरस सार्ने सम्भावना निकै न्यून हुन्छ ।

तपाईको प्रतिक्रिया