Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ११ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष रहेका छन् ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५ सय ६९ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ६ सय २९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ४७ हजार ८ सय ८१ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ८८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । हुम्ला र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया रहेका छन् ।
त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५९ वर्षीय रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया