Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, ९ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय १३ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ३ सय २७ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख २१ हजार ९ सय १ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १० हजार ४ सय ५३ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा १४ हजार २ सय ५० जना व्यक्तिहरु उपचाररत रहेका छन् ।
यसैगरी हालसम्म हुम्ला, मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । १ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् । त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया