Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ५ भदौ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ५० जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५ सय ७९ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ११ हजार ७ सय ६८ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा १२ हजार १ सय ३२ जना व्यक्तिहरु उपचाररत रहेका छन् । यसैगरी हालसम्म भोजपुर, हुम्ला, मुस्ताङ र म्याग्दी गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा सो रकम खर्च भएको जानकारी दिए । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन ।

गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिए । यसबाहेक संक्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरे ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया