Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ३१ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय २४ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ५ लाख ५६ हजार ६० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १४ हजार ४ सय ४८ जना व्यक्तिहरु रहेका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनको संख्या प्रदेश १ मा ८ सय ५४, प्रदेश २ मा ३ हजार ८ सय २७, बागमति प्रदेशमा २ हजार २, गण्डकी प्रदेशमा २ सय ६२, प्रदेश ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदुर पश्चिम प्रदेशमा ८ सय १० जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ८ हजार ७ सय १६ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यस्तै अब संक्रमितको सम्पर्कमा आएकाहरुको ५ दिन पछि मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ ।
संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।

यसैबीच, नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।

गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।

प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया