Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ३० साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३९ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको बताए ।
गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ४० जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५ सय ७५ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६ सय १३ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना व्यक्तिहरु रहेका छन् ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापनका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन दिएको छ ।
घनाबस्ती भएका जिल्लाहरु र सहरहरुमा संक्रमण वृद्धि भएको तथा काठमाडौंमा बेड अभाव हुँदै गएको भन्दै मन्त्रालयले निजी क्षेत्रका अस्पताललाई समेत २० प्रतिशत बेड कोभिड व्यवस्थापनका लागि राख्न निर्देशन दिएको हो ।

कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिड १९ संक्रमण पुष्टि भए हब अस्पतालको समन्वय बिना रिफर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यसैगरी हालसम्म संखुवासभा, डोल्पा, मनाङ र मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४२ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।

तपाईको प्रतिक्रिया