Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २८ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६४जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ८१ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख ७३ हजार १ सय ७९जनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ जना व्यक्तिहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनेमा प्रदेश १ मा ६ सय १४, प्रदेश २ मा ३ हजार ४ सय ५७, बागमति प्रदेशमा १ हजार ५ सय २४, गण्डकी प्रदेशमा २ सय ४७, प्रदेश ५ मा ६ सय ५७, कर्णाली प्रदेशमा २ सय २० र सुदुर पश्चिम प्रदेशमा ८ सय ९४ जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ७ हजार ६ सय १३ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

तपाईको प्रतिक्रिया