Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २८ साउन २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिए ।

‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न सकेका छैनौँ । २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका छन् । तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन,’ प्रधानमन्त्रीको भनाइ छ ।

उनले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताए ।

उनले युवाहरुको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताए । ‘सरकार साथमा छ । अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागी गरिएको भन्दैसरकारले युवाहरुका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनले युवा स्वरोजगार, युवापरिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको समेत जानकारी दिए ।

उनले अहिले ४० प्रतशत युवाहरुले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्योभन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको बताए । उनले यो प्रतिशतलाई बढाउदै लैजाने पनि प्रतिवद्धता जनाए । नयाँ र पुरानो पुस्ता मिलेर ज्ञान सिप, सामथ्र्य र अनुभव बाडेर देशका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले युवाको क्षमता र सहभागिता बृद्धि गर्दै अघि बढ्नसकेमात्रै सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया