Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २७ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका ३७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७१ जना रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ६२ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख ६२ हजार ६ सय ९८ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ५८ जना व्यक्तिहरु रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनेमा प्रदेश १ मा ५ सय ३९, प्रदेश २ मा ३ हजार ३ सय ४७, बागमति प्रदेशमा १ हजार ३ सय ५२, गण्डकी प्रदेशमा २ सय २४, प्रदेश ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदुर पश्चिम प्रदेशमा ८ सय ९६ जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ७ हजार २ सय १ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी ४ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया