Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा

गौरादह, २६ साउन २०७७ । झापाको गौरादह नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउदी अरबबाट नेपाल पर्किएर गौरादह-५ स्कुलचौन मा.वि.को क्वारेन्टाइनमा बसेका ३ जना र सशस्त्र प्रहरी बलका २ जना गरि ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सि.आइ.सि.टि टिमलिडर विनोद थापाले जानकारी दिए ।
गौरादह नगरपालिका वडा नं. ७ को जामवाडीमा होम क्वारेन्टाइनमा इलाममा कार्यरत सशस्त्र प्रहरी बलका दुई जवान ९-१० दिन अघि आफ्नो घर आएर होम क्वारेन्टाइनमा बस्दै आएका टिमलिडर थापाले बताए ।

यहि साउन २० गते गौरादह बजारका व्यवसायी र दुई वटा क्वारेन्टाइनहरुमा बसेका गरि १ सय १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा १ सय ३ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो भने, बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी रहेकामा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने, ७ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । उनिहरु सबैको नोजल र थ्रोट स्वाब संकलन गरि वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको थियो ।

कोरोना संक्रमण पुष्टी भएका ५ जनामा अहिले सम्म कोरोना सँग सम्बन्धित कुनै पनि लक्षण नदेखिएकोले र अन्य आइसोलेसनमा बिरामी राख्ने स्थान नभएकाले अहिले सुरक्षाका साथ उनिहरुलाई जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको क्वारेन्टाइनमा नै राखिने वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

यसैबीच, ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा बसेको आकस्मिक रुपमा बोलाएको जनप्रतिनिधि ,राजनीतिक दल तथा उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको सर्वपक्षिय बैठकबाट  समुदायमा संक्रमणको जोखिम देखिएको भन्दै आज मध्यान्ह १२ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि वडा न.६,७ र ८ का सम्पूर्ण क्षेत्र तथा ५ र ३को केहि भाग सिल गर्ने निर्णय गरेको छ ।

गौरादह नगरपालिकाको वडा नं. ६, ७ र ८ को सम्पूर्ण क्षेत्र, वडा नं. ५ को स्वामीचोक कार्कीचोक पूर्व, डोरामारी खोला पश्चिम, नमुना खेती जाने बाटो, जत्रुचौन चान्दु जाने बाटो, पिपल चोक दक्षिण वडा नं. ४ को सिमाना उत्तर सम्म र ३ नं. वडाको गुरास चोक देखि दुर्गा प्रा.वि हुदै नारायण थापाको घर देखि दक्षिण सम्मको क्षेत्र सिल गरिने निर्णय गरेको छ ।

संक्रमितहरु समाजमा समेत घुलमिल भएको देखिएकाले संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको जानकारी गराउदै श्रेष्ठले संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरि पीसीआर परिक्षणका लागि पठाइने बताए ।

गौरादहमा यसअघि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप अर्को एक पुरुषमा, जेठ २८ गते पहिलो पटक एक महिलामा, असार १७ गते ४ पुरुष ३ महिलामा, असार २३ गते एक वृद्ध महिलामा संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमित १२ जना कोरोना जितेर घर फर्किसकेका छन् । आज थप ५ पुरुष गरि गौरादहमा कोरोना संक्रमितको संख्या ५ महिला र १२ पुरुष गरि १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया