Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २४ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४ सय ९९ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ८८ जनाको परीक्षण गरिएको छ भने, हालसम्म पीसीआर विधिबाट ४ लाख ३५ हजार २ सय ८९ जनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना व्यक्तिहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनेमा प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार २ सय २९, बागमति प्रदेशमा १ हजार २९, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदुर पश्चिम प्रदेशमा ९ सय ७५ जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ६ हजार २ सय ६ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।

यसैगरी हालसम्म खोटाङ्ग, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका(६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलालाई साउन १८ गते कोभिड-१९ पुष्टि भएको थियो ।
पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।

यस्तै, कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका(३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

यस्तै, मोरङ विराटनगर-९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

तपाईको प्रतिक्रिया