Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २३ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४ सय २५ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ९ सय २६ जनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट ४ लाख २७ हजार ९ सय २६ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा १० हजार २ सय ७ जना व्यक्तिहरु रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश अनुसार आइसोलेसनमा रहनेमा प्रदेश १ मा ४ सय २५, प्रदेश २ मा २ हजार ८ सय ३९, बागमति प्रदेशमा ९ सय ४३, गण्डकी प्रदेशमा २ सय ७६, प्रदेश ५ मा ३ सय ७६, कर्णाली प्रदेशमा २ सय ३१ र सुदुर पश्चिम प्रदेशमा १ हजार २ सय ४० जना गरि हालसम्म कोरोना संक्रमित भई आईसोलेसनमा ६ हजार ३ सय ३० जना व्यक्तिहरु उपचाररत रहेका छन् ।
यसैगरी हालसम्म खोटाङ्ग, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
यसैबीच, नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो पाटन अस्पतालमा मृत्यु भएको हो ।
उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

मृतकमा सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

साथै पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

तपाईको प्रतिक्रिया