आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

अनलाईनविचार डेक्स
गौरादह, १९ साउन । पुँजीगत तर्फको “नगर मार्फत संचालन हुने योजनाहरु” शीर्षकको बिनियोजित बजेटबाट नगर प्रमुख र उप प्रमुख आफैले प्रत्यक्ष योजनाहरु छनौट गर्ने गर्दछन् ।

आर्थिक बर्ष २०७७।०७८ का लागि “नगरमार्फत संचालन हुने योजनाहरु” शीर्षकमा गौरादह नगरपालिकाले ९ करोड ६२ लाख ५३ हजार रुपयाँ बजेट बिनियोजन गरेको छ । बिनियोजित बजेटबाट ६८ वटा योजनाहरु छनौट गरिएकोमा कृषिसंग सम्बन्धित योजना एउटा पनि समावेश गरिएको पाइएन ।

६८ वटा योजनाहरुमा सडक, भवन, शौचालय, सडक बत्ती, बसपार्क जग्गा, कलभर्ट, पार्क, बजार, ड्रेन, फोहोरमैला ब्यवस्थापन, बृक्षरोपण, विद्यालय, पोखरी लगाएतका योजनाहरु अटाउदा कृषकले अनुभूत गर्ने कृषिका योजना एउटा पनि अटाएन । नीति कार्यक्रममा समाबिष्ट कृषकलाई मलखादमा अनुदान कार्यत्रम मात्र समेटिएको भएपनि कृषकहरु आसावादी हुन सक्थे ।

एक करोड देखि एक करोड बीस लाख सम्म बजेट सिलिङ तोकिएका ९ वटा वडाहरुले वडा भित्र कृषि तथा पशु स्वास्थ्यका लागि प्रत्येक वाडले १५ लाख देखि २५ लाख सम्म बजेट बिनियोजन गरेका छन् । तर नगर प्रमुख तथा उप प्रमुखले नगर मार्फत संचालन हुने योजनाहरुमा कृषिका योजना समावेश गर्न किन आवस्यक ठानेनन् ?

गौरादह नपाको नीति कार्यक्रम २०७७।०७८ मा कृषिलाई यसरी परिभाषित गरिएको छ “ करिब नब्बे प्रतिशत कृषि र पशुपालनमा आधारित जनसंख्या रहेको यस नगरपालिकाको भविष्य पनि यहि कृषि र पशु क्षेत्रको चौतर्फी विकासमा नै हुने कुरा हामी सबैले बुझ्न सक्नु पर्दछ। यसर्थ कृषि र पशुलाई व्यवसायीकरण, उत्पादन तथा रोजगारमूलक एवम् आयआर्जन गर्ने माध्यमको रुपमा उपयोग गर्नु हामी गौरादहवासीको दोस्रो प्रथमिकता देखिन्छ ।”

नीति कार्यक्रम एकातिर बजेट बिनियोजनको प्राथमिकता अर्कोतिर भएको छ । कृषि शीर्षकका योजनाहरुले नीति कार्यक्रमले भनेजस्तो उच्च प्राथमिकता बजेटमा पाउन सकेनन् । सो ९ करोड ६२ लाख ५३ हजार बिनियोजित बजेट भित्रबाट “नगर मार्फत संचालनहुने योजनाहरु” शीर्षकबाट नगर प्रमुख शाह र उप प्रमुख भेट्वालले नगरपालिका भन्दा बाहिरका प्रतिष्ठान र फाउण्डेसनहरुका नाममा १४ लाख रुपयाँ बजेट बिनियोजन गर्न छुटाएनन् तर प्राथमिकतामा राखिएको कृषिको योजना कार्यक्रम छुटाएका छन् ।

नगर सभाले चालु यस आर्थिक बर्षको पुँजीगत र चालु तर्फ गरी कुल ७३ करोड २३ लाख ८९ हजारको बजेट पास गरेकोमा गौरादह नगरपालिकाको कृषि शाखालाई एक करोड ४४ बजेट बिनियोजन गरेको छ । वडा कार्यलयहरुले वडामा बिनियोजित बजेट भित्रबाट आआफ्नो वार्डमा कृषि तर्फ केही बजेट बिनियोजन गरेका छन् । तर मेयर र उप मेयरले भने नगर मार्फत संचालन हुने योजनाहरुमा बजट मार्फत कृषिलाई सम्बोधन गरेको पाइएन ।

तपाईको प्रतिक्रिया