Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १७ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९३ जना रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ जना पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ९ सय ९३ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख ८२ हजार ४ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ५ सय ३३ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ३ सय ३८ जना उपचाररत रहेका छन् । अहिलेसम्म ५ सय ३५ जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितमा प्रदेश १ मा २२५, प्रदेश २ मा २ हजार ६६, बागमति प्रदेशमा ५ सय ७५, गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदुर पश्चिम प्रदेशमा १ हजार ६ सय ७५ संक्रमित रहेका छन् ।

यसैगरी हालसम्म भोजपुर,संखुवासभा, रसुवा, काभ्रेपलान्चोक मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमूक्त भएका छन् ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ ।
धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरुलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।
सिंहदरबार भित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले समेत सामाजिक दुरी कायम नगरेको सूचना प्राप्त भएकाले त्यस्तो नगर्न प्रवक्ता डा.गौतमले आग्रह गरे ।

सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुने उनले आग्रह गरे । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेपनि आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।

यसैबीच, पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक जना महिलाको कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ ।
ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा।निरज सिंहले जानकारी दिए ।

शुक्रबार राति आएको रिपोर्टमा ६४ जनामा संक्रमण देखिएको र त्यसमध्ये बयोधामा निधन भएकी महिलामा पनि संक्रमण रहेको पुष्टि भएको सिंहले बताए ।
शुक्रबार बिहान मृत्यु भएकी महिलाको शव अहिलेसम्म पनि अस्पतालमा नै रहेको छ । उनको शवको व्यवस्थापन गर्ने तयारी भएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।
यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया