Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ७ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १०० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ ।

हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख २७ हजार छ सय २८ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २० हजार ८ सय ४२ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । हालसम्म ५ सय ३० व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ७ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए । आज झापाका थप एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यलय बिराटनगरको आजको रिपोर्ट अनुसार झापाको एक पुरुषमा संक्रमण देखिएको हो ।

यसैबीच, कोरोना भाइरसबाट २ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
त्यस्तै ४९ वर्षीया कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

तपाईको प्रतिक्रिया