Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ४ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ४१ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख १५ हजार ५ सय ७० जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ९ सय ६३ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २८ व्यक्तिहरु रेडजोनमा परेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ८ सय ३० , प्रदेश २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६, गण्डकी प्रदेशमा १ हजार ३ सय ८१, प्रदेश ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया