Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कुन कुन देशबाट को को आउदैछन्

काठमाडौ, ७ भदौ । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरुको पहल विमस्टेक शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ । यही भदौ १४ र १५ मा काठमाडौंमा आयोजना हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा सदस्य देशका कार्यकारी प्रमुखहरु सहभागी हुँदैछन् ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा गरेको छ । सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो ।
विमस्टेकमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यानमार र श्रीलंका सदस्य छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्त सम्मेलनमा भाग लिन आउनेछन् । सम्मेलनमा आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील चढ्ने कार भने भारतबाटै ल्याइने छ ।
दुई दिने सम्मेलनका क्रममा सबै क्षेत्रका सहयोगका सम्बन्धमा समीक्षा गरिनेछ र भदौ १५ मा सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी हुनेछ । सम्मेलनका क्रममा यातायात सम्पर्कसञ्जाल, उर्जा तथा प्रसारणलाइन, जलवायु परिवर्तन र हरित अर्थतन्त्र तथा आतंकवाद नियन्त्रणका बारे छलफल हुनेछ ।
तपाईको प्रतिक्रिया